Suchana Vatika

नयाँ पुस्ता, नयाँ नेतृत्व र कांग्रेसको भविष्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा हाम्रो सभापति हुनुहुन्छ। उहाँप्रति सम्मान छ, श्रद्धा छ र भावनात्मक लगाव पनि छ। यो भावना व्यक्तिगत मात्र होइन, पार्टी, संगठन र लामो राजनीतिक यात्रासँग जोडिएको भावना हो। यही कारणले हामी उहाँलाई फलो गर्छौँ, समर्थन गर्छौँ र उहाँको योगदानलाई अस्वीकार गर्न सक्दैनौँ।

तर राजनीति केवल भावना र सम्मानले मात्र निर्देशित हुँदैन। राजनीति अन्ततः जनताको भरोसामा टिक्छ। आजको यथार्थ के हो भने—ग्रासरुट तहका आम नागरिक, स्वतन्त्र मतदाता, र विशेषगरी नयाँ पुस्तासँग सभापति देउबाप्रति त्यो स्तरको भावनात्मक जोड र विश्वास देखिँदैन, जुन स्तरको समर्थन पार्टीभित्र छ।

यही कारणले, उहाँकै नेतृत्वमा चुनावमा जाँदा जनताले “पुरानै नेतृत्व” भनेर हेर्ने सम्भावना बलियो छ। विगत २५–३० वर्षदेखि निरन्तर देखिँदै आएको नेतृत्वप्रति जनतामा स्वाभाविक थकान देखिनु राजनीतिक यथार्थ हो, भावना होइन।

त्यसैले सम्मान कायम राख्दै, योगदान स्वीकार गर्दै, समयको मागअनुसार नेतृत्व परिवर्तनको कुरा उठाउनु कुनै अपमान होइन—यो जिम्मेवार राजनीति हो।

नयाँ पुस्ताका नेताहरू पनि पूर्ण रूपमा स्थापित भइसकेका छैनन्। उनीहरूसँग पनि सबै तहका जनताको भावनात्मक जोड बनेको छैन। तर कम्तीमा आशा छ, सम्भावना छ, र भविष्यप्रति भरोसा देखिएको छ। यही भरोसाले कांग्रेसलाई जनतासँग पुनः जोड्न सक्छ।

यो कांग्रेसको मात्र सवाल होइन। यो नेपाली लोकतन्त्रको सवाल हो। इतिहासले स्पष्ट देखाएको छ—जब जब कांग्रेस कमजोर भयो, फुट्यो वा विभाजित भयो, तब तब लोकतन्त्र संकटमा पर्यो। भूराजनीतिक रूपमा संवेदनशील देश नेपालमा लोकतन्त्र कमजोर हुनु भनेको देश नै अस्थिर हुनु हो।

त्यसैले आजको आवश्यकता कांग्रेस फुटाउने होइन। आवश्यकता छ—एक ढिक्का कांग्रेस, समयसापेक्ष नेतृत्वसहितको कांग्रेस।

निर्वाचनअघि नै सर्वसम्मत संक्रमणकालीन नेतृत्व बनाएर एकताबद्ध रूपमा जनतामा जानु आजको सबैभन्दा व्यवहारिक बाटो हो। निर्वाचनपछि नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न सकिन्छ।

नेतृत्व परिवर्तन कांग्रेसको कमजोरी होइन, यसको परिपक्वता हो।
एक ढिक्का कांग्रेस नै बलियो लोकतन्त्रको आधार हो।

लेखक: रोशन पाण्डे।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.