द सिनेमा टाइम्स, काठमाडौं । रंग सयोजक जुनिम गहतराज निर्देशित तथा अभिनित सिनेमा ‘ताण्डवम्’ युट्युवमा रिलिज भएको छ । गत वर्षको फागुनमा प्रदर्शनमा आएको सिनेमा सेन्सर लफडाका कारण पनि चर्चामा आएको थियो ।
पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाले पछिल्लो समय नेपालमा निर्माण भैरहेका सिनेमाको भन्दा फरक र युनिक देखिएको प्रतिक्रिया दर्शकबाट पाएको थियो ।
सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।