Skip to main content

Suchana Vatika

जोगिएला कि तोडिएला प्रधानन्यायाधीशको सिफारिसमा परम्परा

अहिलेसम्म चलेको परम्परा विपरीत मुलुकको ३३ औं प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठताको रोलक्रम तोडिने हल्लाले मुलुकको न्यायिक मात्रै होइन, राजनीतिक पङ्ति समेत तरंगित छ ।

  • प्रधानमन्त्री बालेन शाहले बिहीबार अपरान्ह संवैधानिक परिषद्को बैठक डाकेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी गरेका छन्।
  • संवैधानिक परिषद्को नयाँ अध्यादेशले तीन सदस्यको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरेपछि वरिष्ठतम न्यायाधीशलाई सिफारिस नगर्ने आशंका बढेको छ।
  • प्रधानन्यायाधीश नियुक्तिमा परम्परा तोडेर वरिष्ठतम न्यायाधीश बाहेक अन्य न्यायाधीशलाई नियुक्ति गर्ने सम्भावनाले न्यायिक वृत्तमा अन्यौल र चिन्ता फैलिएको छ।

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष बालेन शाहले बिहीबार अपरान्ह संवैधानिक परिषदको बैठक डाकेका छन् । संवैधानिक परिषद्को सचिवालयले बुधबार ‘प्रधानन्यायाधीश नियुक्तिको सिफारिस’ एजेण्डा राखेर सदस्यहरूलाई पत्र पठाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको विवरण अनुसार, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोबिता गौतम, प्रतिनिधिसभाको विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुवी कुमारीलाई बैठकको पत्र पठाइएको हो ।

रिक्त भएको प्रधानन्यायाधीशको सिफारिस हुने संवैधानिक परिषद्को बैठकमा कामु प्रधानन्यायाधीश सदस्यको रुपमा उपस्थित नहुने संवैधानिक व्यवस्था छ ।

नेपालको संविधानको धारा १२९(३)मा ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ’ भन्ने संवैधानिक व्यवस्था छ । दुईवटा अपवादलाई आधार मान्ने हो भने सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीशमा सिफारिस र नियुक्ति भएको इतिहास छ ।

तर यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाहले त्यो नजीर तोड्दै अरु न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउनसक्ने आशंका सहितको हल्ला फैलिएको छ । यही आशंकासहित सर्वोच्च अदालतका कतिपय वरिष्ठतम न्यायाधीशहरू चिन्ता र अन्यौलमा छन् ।

किन आशंका ?

सर्वोच्च अदालत एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्वद्ध स्रोतका अनुसार, यसपाली प्रधानन्यायाधीश नियुक्तिमा विगतको न्यायिक अभ्यास तोडिने आशंका हुनुमा केही कारणहरू छन् ।

पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टीका केही वरिष्ठ नेताहरूले ‘यसपाली न्यायपालिकाको नेतृत्व चयनका क्रममा विगतको नजीर तोडिनसक्ने’ अभिव्यक्ति दिएका छन् र त्यो अभिव्यक्ति न्यायिक वृत्तमा फैलिएको छ । प्रधानमन्त्री सम्वद्ध टिमले समेत सिफारिसमा परेका अरु केही न्यायाधीशका बारेमा चासो राखेपछि उनीहरूको आशंकामा बल पुगेको हो ।

दोस्रो, बालेन शाहको नेतृत्वमा सरकार गठन भएलगत्तै सिफारिसमा परेका केही न्यायाधीश र उनीहरूका शुभचिन्तकहरूले रास्वपाका उच्च नेताहरूलाई भेटेका थिए । उनीहरूले आ–आफ्नै तरिकाले प्रधानन्यायाधीशमा एप्रोच पुर्‍याएपछि समेत सूचीमा भएकामध्ये कसको नाम सिफारिस हुन्छ भन्ने आशंका भएको हो ।

तेस्रो, सरकारले संघीय संसद्को अधिवेशन केही समयलाई स्थगित गरेर निकै जोडबल गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको छ ।

अध्यादेशले छ सदस्यीय संवैधानिक परिषद्मा आधा अर्थात तीन जना पदाधिकारूरुले समेत निर्णय गर्नसक्ने बाटो खुलाइदिएको छ । यदि वरिष्ठतम न्यायाधीशलाई सिफारिस गर्ने भए विपक्षीहरूको समेत स्वतः साथ हुने भएकाले कतै वरिष्ठताक्रम तोड्न तीन जना पदाधिकारीहरूले निर्णय गरे पुग्ने भनी व्यवस्था त गरिएको होइन ? भन्ने कतिपयको आशंका छ ।

चौथो, प्रधानमन्त्री बालेन शाहको टिमले रोष्टरमा परेकामध्ये केही न्यायाधीशहरूले गरेको आदेश र फैसलाहरूमा चासो राख्दै त्यसको कपी समेत मगाएर अध्ययन गर्न लगाएको थियो ।

‘वरिष्ठताक्रम नतोडिने भए अध्यादेश जारी गर्नैपर्ने थिएन भन्नेमा हामी करिबकरिब एकमत छौं’ सर्वोच्च सम्वद्ध स्रोतले भन्यो, ‘यिनै घटनाक्रमहरूले यसपटक न्यायिक अभ्यास र नजिर तोडिने हो कि भन्ने आशंका बढेर गएको हो ।’

बुधबार मात्रै कांग्रेस सभापति गगन थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, त्यसपछि बिहीबार बेलुकी बोलाइएको बैठक र सम्भावित सिफारिसबारे अभिव्यक्ति दिएर आशंकालाई झनै बल पुर्‍याइदिएका छन् ।

‘प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेमा एउटा दल (रास्वपा) ले पात्र तय गरेको छ र आफ्नो खल्तीबाट झिकेको नामलाई पारित गराउन जालझेलपूर्ण कानुन ल्याइएको छ,’ उनले कांग्रेस सांसदहरूलाई प्रशिक्षण दिएपछि बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग भने, ‘प्रधानमन्त्री, सभामुख र कानुनमन्त्री गरी तीन जना मात्रै भएपनि बहुमत पुग्ने गरी जुन प्रपञ्च रचिएको छ, त्यो आपत्तिजनक छ ।’

कसको नाम चर्चामा ?

गत महिना पद रिक्त हुनुअघि नै न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका न्यायाधीशहरू भन्दै छ जनाको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतमा त्यतिबेला वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

सर्वोच्च अदालतसम्वद्ध स्रोतका अनुसार, त्यसको केही सातामै न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफूलाई न्यायिक नेतृत्वको अवसर प्राप्त भएमा तत्काल आम जनमानसमा महशुस हुने गरी न्यायपालिका सुधार्न सकिने भन्दै कार्ययोजना तयार पारेका थिए । त्यो कार्ययोजना रास्वपाका केही नेताहरूसम्म पुगेको थियो

त्यसपछि पछिल्लो समय न्यायाधीश डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीको नाम चर्चामा थियो । रास्वपा सम्वद्ध स्रोतका अनुसार, ती दुवै न्यायाधीशका केही शुभचिन्तकहरुले ‘न्यायिक नेतृत्वका लागि अवसर दिनुपर्ने’ भन्दै लबिईङ गरेका थिए ।

डा. शर्माका शुभचिन्तकहरू रवि लामिछाने निकट नेताहरूकोमा पुगेका थिए भने डा. सुवेदीका शुभचिन्तकहरू प्रधानमन्त्री बालेन निकटका व्यक्तिहरूसँग सन्देश पुर्‍याइएको उनीहरूको दावी छ । प्रधानन्यायाधीश सिफारिसबारे अनेक हल्ला चलेपछि न्यायाधीशहरू समेत अन्यौलमा छन् ।

प्रधानन्यायाधीशको हकदार समेत रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित चर्चामा रहेका डा. मनोज शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठका निकटस्थ तथा शुभचिन्तकहरुले प्रधानमन्त्री बालेन शाहको मुड बुझ्न पटकपटक प्रयास गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सम्बद्ध स्रोत बताउँछ ।

तर प्रधानमन्त्री शाहले आफू र आफ्नो सचिवालयको टिमलाई समेत न्यायालय सम्वद्ध पक्ष र सरोकारवालाहरुसँग कुनै भेटघाट र सम्पर्कको पहुँच नदिन निर्देशन दिएको स्रोतले बतायो । प्रधानमन्त्री बाहेक संवैधानिक परिषद्का सदस्य रहेका सभामुख डिपी अर्याल र कानुनमन्त्री सोविता गौतमबाट समेत कुनै संकेत नपाएपछि उनीहरू अन्यौलमा छन् ।

यदि परम्परा कायम रह्यो भने कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तीन वर्ष प्रधानन्यायाधीश हुनेछिन् । त्यस विपरीत रोलक्रम तोडियो भने श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण १३ भदौसम्म मात्रै प्रधानन्यायाधीश हुनेछन् ।

शर्मा वा सुवेदी सिफारिस भइहालेमा पूर्ण कार्यकाल अर्थात छ वर्ष प्रधानन्यायाधीश हुनेछन् । नेपालको न्यायिक इतिहासमा २०४७ सालको राजनीतिक परिवर्तनपछि कुनैपनि प्रधानन्यायाधीशले छ वर्षे पदावधि पुरा गर्न पाएका छैनन्, ६५ वर्षे उमेरहदबाटै अवकाश भएका छन् ।

नतोडिएको परम्परा

वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने पक्षमा रहेका सर्वोच्च अदालतका केही न्यायाधीश एवं नेपाल बार एसोसिएसनका पदाधिकारीहरूका अनुसार, नेपालको न्यायिक इतिहासमा एकपटक मात्रै वरिष्ठताक्रम तोडिएको छ ।

राणा शासनकालमा राणाहरूका वरिष्ठ अधिकारीलाई न्यायाधीश जनरल(प्रधानन्यायाधीश) तोक्ने गरिएकोमा सात सालको क्रान्तिपछि त्यो क्रम तोडेर हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाइएको थियो । नेपालको न्यायिक इतिहासमा वरिष्ठताक्रम तोडेर न्यायिक नेतृत्व चयन गरिएको त्यही एउटा घटना हो ।

उनीहरुका अनुसार, त्यतिबेला बाहेक मुलुकको राजनीतिक व्यवस्था परिवर्तन र अरु विषम परिस्थितिमा समेत सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश प्रधानन्यायाधीश हुने परम्परा तोडिएको छैन ।

३० वर्ष लामो पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्र पुनर्स्थापना हुँदा धनेन्द्रबहादुर सिंह प्रधानन्यायाधीश थिए । पञ्चायती व्यवस्था फेरिएपछि समेत उनी कायम रहे, अनि २०४८ सालमा मात्रै विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश बनेका हुन् ।

शाही शासनकाल र २०६२/६३ को जनआन्दोलन हुँदा दिलीपकुमार पौडेल प्रधानन्यायाधीश थिए । व्यवस्था परिवर्तनपछि पनि उनी यथावत रहे भने असोज, २०६४ मा मात्रै केदारप्रसाद गिरी प्रधानन्यायाधीश बनेका थिए ।

रोलक्रममा रहेर पनि प्रधानन्यायाधीश नभएका व्यक्ति हुन्, दिपकराज जोशी । प्रधानन्यायाधीशमा सिफारिस भएपछि संसदीय सुनुवाई विशेष समितिले उनको नाम अस्विकार गरेको थियो, जसले गर्दा रोलक्रममा नरहेका ओमप्रकाश मिश्र पुगनपुग चार महिनाका लागि प्रधानन्यायाधीश बनेका थिए ।

व्यवस्था परिवर्तन हुँदा समेत प्रधानन्यायाधीश नियुक्तिको परम्परा र अभ्यास नतोडिएको अवस्थामा अहिले एकाएक वरिष्ठतम न्यायाधीशलाई छाडेर अरु न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन खोजिएको र त्यसले न्यायपालिकामा विसंगति थपिनसक्ने भन्दै उनीहरू सशंकित बनेका हुन् ।

हरिकृष्ण कार्कीपछिको प्रधानन्यायाधीश छनौटका बेला संवैधानिक परिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वम्भरप्रसाद श्रेष्ठको साटो ईश्वरप्रसाद खतिवडालाई सिफारिस गर्ने भनी ‘किचलो’ गर्न खोजेका थिए । त्यसक्रममा कार्कीले वरिष्ठताक्रम मिच्दा हुनसक्ने असर र त्यसले न्यायपालिकामा पार्ने प्रभावबारे लामो अभिव्यक्ति दिएपछि रोलक्रम मिचिएको थिएन ।

‘धारा १२९ गहना हो ?’

प्रधानन्यायाधीशको सिफारिसबारे रास्वपा निकट कुनैपनि पदाधिकारी औपचारिक रुपमा बोल्न चाहदैनन् । अधिकांशले सम्भावित सिफारिसबारे अनविज्ञता जनाएपनि कानून व्यवसायी पृष्ठभूमिका एक नेताले भने धारा १२९ मा भएको व्यवस्था आलंकारिक नभएको भनी टिप्पणी गरे ।

‘यदि वरिष्ठतम न्यायाधीशलाई मात्रै प्रधानन्यायाधीश बनाउनुपर्ने बाध्यात्मक व्यवस्था हो भने धारा १२९ किन राखिन्थ्यो होला र ?’ उनले भने, ‘सर्वोच्च अदालतमा तीन वर्ष पुरा गरेका न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुनसक्ने व्यवस्था केवल संविधानको गहना हो र ?’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.