राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘जेनजी आन्दोलन’ का क्रममा पहिला गोली चलेको र त्यसपछि मात्र सिंहदरवार जलेको दाबी गरेका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सिंहदरबार कसले जलायो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्।
“भदौ २३ र २४ मा पहिला गोली चल्यो अनि सिंहदरबार जल्यो,” लामिछानेले भने, “सिंहदरबार त्यसैले जलायो, जसले यसलाई भ्रष्टाचारको अखडा बनायो र बालबालिकाहरूमाथि गोली ठोक्यो।” उनले सिंहदरबार जलाउने र प्रदर्शनकारी बालबालिकामाथि गोली चलाउने समूह एउटै भएको जिकिर गरे।
लामिछानेले सत्तामा रहेकाहरूले सिंहदरबारलाई भ्रष्टाचारको केन्द्र बनाएकाले नै यस्तो परिस्थिति सिर्जना भएको आरोप लगाए। निर्वाचनको मुखमा उनले विगतको आन्दोलन र राज्यको कदमलाई लिएर कडा राजनीतिक टिप्पणी गरेका हुन्।