नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाएमा निवर्तमान सभापति शेर बहादुर देउबाको सम्पत्ति छानबिन गर्ने घोषणा गरेका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले सुशासनको सुरुवात आफ्नै घरबाट गर्ने प्रतिबद्धता जनाएका हुन्।
“हाम्रो सरकार बनेपछि सबैभन्दा पहिला पटक-पटक प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवा र मन्त्री भइसकेको मेरो सम्पत्ति छानबिन हुन्छ,” थापाले भने। उनले भ्रष्टाचार नियन्त्रणका लागि एक शक्तिशाली र स्वतन्त्र आयोग गठन गरिने र मुलुकमा कसैले पनि भ्रष्टाचार गर्न नसक्ने वातावरण निर्माण गर्ने कांग्रेसको मुख्य संकल्प रहेको बताए।
सम्बोधनका क्रममा सभापति थापाले आगामी पाँच वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योगका क्षेत्रमा क्रान्तिकारी रूपान्तरण ल्याउने आश्वासन समेत दिए। उनले बदलिएको कांग्रेसले मात्र देशको अवस्था बदल्न सक्ने दाबी गर्दै मतदातालाई रुख चिह्नमा मतदान गर्न आग्रह गरे।