Suchana Vatika

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प

निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै गौतमबुद्ध क्रिकेट रंगशालाको काम १५ दिनदेखि रोकेको छ ।२५ वैशाख, चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प बनेको छ । भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको हो ।

निर्माण कम्पनीका अनुसार गत पुस र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी माग गर्दा पनि नआएपछि विगत १५ दिनदेखि काम पूर्णरुपमा ठप्प छ ।निर्माण कम्पनीका व्यवस्थापक विजय ढकालले आफूहरुले काम गर्न नसक्ने भएपछि रोक्नु परेको बताए । दुई वटा बिलको करिब १० करोड रकम भुक्तानी लिन बाँकी रहेको ढकालले बताए ।

निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिकामा पेश गरेको छ । महानगरपालिकाले प्रदेश सरकारबाट आउनुपर्ने रकम आउन ढिलाइ हुँदा भुक्तानी दिन नसकेको जनाएको छ ।तोकिएको समय भित्र काम नसकिने भएपछि निर्माण कम्पनीले थप म्याद माग्ने तयारी छ । तर रकम निकासा भएर काम सुरु गरेपछि म्याद थपको प्रक्रिया अगाडि बढाउने तयारी छ ।

२०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच  २०८३ पुस २२ गते अर्थात ३० महिना भित्र सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रूपैयाँको सम्झौता भएको थियो ।

सुरुमा काम थालेको धुर्मस–सुन्तली फाण्डेसनले पहिला नै ५ हजार जना बस्न मिल्ने प्याराफिट तयार गरेको थियो । अहिले थप १० हजार क्षमता थप्ने लगायत भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने सम्झौता ठेकेदार कम्पनीसँग महानगरले गरेको छ । मैदानमा ५ वटा पिचहरु बन्ने छन् । बर्खा नजिक आएकाले रकम निकासापछि पनि काम सहज हुनेमा आशंका छ ।

प्रदेश सरकारले रंगशाला निर्माण ठेक्काको कुल रकमको ७० प्रतिशत बेहोर्ने छ । बाँकी महानगरपालिका र केन्द्र सरकारले बेहोर्ने भन्ने छ । तर, चालु आर्थिक वर्षको बजेटमा केन्द्र सरकारले बजेट नै विनियोजन गरेको छैन । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारले विनियोजन गरेको २५ करोड रकममध्ये १० करोड रकम समयमा नै काम नगरेका कारणले फ्रिज भएको थियो । भरतपुर महानगरले चालु आर्थिक वर्षका लागि ४ करोड रूपैयाँ विनियोजन गरेको छ ।

By xihakulore1611

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.